बीरगन्ज,१९ जेठ । जीतपुरसिमरा उपमहानगरपालिकाले हालै आएको हावाहुरीबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको छ।
गत जेठ ९ गते वडा नं. २२ र जेठ ११ गते वडा नं. ११ मा आएको हावाहुरीका कारण दर्जनौं घरका छाना उड्नुका साथै टहरा, गोठ, विद्युत् संरचना लगायतमा क्षति पुगेको उपमहानगरपालिकाले जनाएको छ। प्रारम्भिक विवरण अनुसार वडा नं. २२ मा करिब ५० र वडा नं. ११ मा करिब ४० घरधुरी प्रभावित भएका छन्।
नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको मूल्याङ्कनका आधारमा राहत वितरण गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार आंशिक क्षति भएका परिवारलाई न्यूनतम ५ हजार रुपैयाँ र बढी क्षति भएका परिवारलाई अधिकतम १५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइनेछ।
वडा स्तरीय समितिको सिफारिस र प्राविधिक टोलीको स्थलगत प्रतिवेदनका आधारमा राहत वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ।
हाल प्रभावित क्षेत्रमा क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ। उपमहानगरपालिकाले राहत वितरणलाई पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएको छ।




