बीरगन्ज,०३ फागुन । पर्साका ठोरी, पटेर्वा सुगौली र सखुवा प्रसौनी गाउँपालिकासहित विभिन्न ग्रामीण क्षेत्रमा अवैध रूपमा गाँजा खेती फैलिएको पाइएको छ। स्थानीयका अनुसार ऐलानी तथा पर्ती जग्गा मात्र नभई निजी खेतबारी र सुर्ती खेतीका बिचमा समेत लुकाएर परम्परागत ढंगले गाँजा खेती गर्ने गरिएको छ।
स्थानीय प्रहरी प्रशासनले प्रभावकारी निगरानी नगरेको गुनासो बढेपछि विषय जिल्ला प्रहरी कार्यालयसम्म पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साले फँडानी अभियानलाई पुनः तीव्र बनाएको छ। प्रहरी उपरीक्षक सुदिपराज पाठकको निर्देशनपछि केही समय शिथिल बनेको अभियान पुनः सक्रिय रूपमा सञ्चालन भइरहेको जनाइएको छ।
प्रहरी उपरीक्षक पाठकले अवैध गाँजा खेती र कारोबार नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्थानीय समुदाय र जनप्रतिनिधिको सहकार्य आवश्यक रहेको बताए। “हामीले सकेसम्म फँडानी गरिरहेका छौँ, तर पूर्ण नियन्त्रणका लागि सबैको साथ चाहिन्छ,” उनले भने। गाँजा खेती भइरहेको ठोस सूचना उपलब्ध गराएर सहयोग गर्न उनले सर्वसाधारणसँग आग्रह गरेका छन्।
यस्तै, गाँजा खेतीको असर ग्रामीण भेगका युवामा प्रत्यक्ष देखिन थालेको स्थानीयको भनाइ छ। पटेर्वा सुगौली, जिराभवानी, जगरनाथपुर, ठोरी, सखुवा प्रसौनी, पर्सागढी, बहुदरमाई र वीरगञ्ज महानगरपालिकाका ग्रामीण क्षेत्रमा युवाहरूले चुरोटमा गाँजा मिसाएर सेवन गर्ने प्रवृत्ति बढ्दो रहेको जनाइएको छ।
पटेर्वा सुगौलीका स्थानीय अनिस चौधरीका अनुसार प्रहरीले निरन्तर कडाइ गर्ने हो भने अवैध खेती र दुर्व्यसन नियन्त्रण गर्न असम्भव छैन। “निगरानी र कारबाहीमा निरन्तरता भए यो ठूलो चुनौती होइन,” उनले बताए।
प्रहरीले आगामी दिनमा पनि गाँजा फँडानी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ।

