काठमाडौँ, २२ फागुन । गृहमन्त्री ओमप्रकाश अर्याल ले बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनले मुलुक र संविधानको रक्षा गर्ने सुनिश्चितता गरेको बताएका छन्।
उनले निर्वाचन नभएको खण्डमा देशको राजनीतिक भविष्य, संविधान र मानवता नै गम्भीर जोखिममा पर्न सक्ने चेतावनी दिनुहुँदै यस निर्वाचनलाई ऐतिहासिक उपलब्धि ठहराएका छन्।
मन्त्री अर्यालका अनुसार सरकारले विगतका निर्वाचनभन्दा बढी सुदृढ र व्यवस्थित ढंगले मतदान सम्पन्न गरेको छ। वर्तमान सरकार गठन भएदेखि मुलुकमा राजनीतिक हिंसा समाप्त भएको र निर्वाचनका क्रममा एक थोपा रगत पनि नखसेको उनले बताए।
शान्तिपूर्ण वातावरणमा जनमत व्यक्त हुनुले नेपाली लोकतन्त्र थप परिपक्व भएको उनका विश्लेषण छन्। उनले आगामी सरकारहरूले भत्काउन नसक्ने सुशासनका बलिया मानक स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।
अर्यालले नागरिकले सुशासनको प्रत्यक्ष अनुभूति गर्न पाउने गरी राज्यका संयन्त्रहरू प्रभावकारी बनाउनु पर्ने र आगामी नेतृत्वले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। निर्वाचनपछिको राजनीतिक स्थिरताले देशलाई समृद्धिको दिशामा लैजाने उनको विश्वास छ।

