काठमाडौं — निर्वाचन प्रचारप्रसारका क्रममा फैलिएका भ्रामक सूचनामध्ये ५४ प्रतिशत ‘डिप फेक’ र एआईबाट जेनेरेट गरिएको सामग्री रहेको निर्वाचन आयोगले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले प्रविधिजन्य भ्रामक सूचना यसपटकको निर्वाचनमा गम्भीर चुनौतीका रूपमा देखिएको बताए।
आयोगले सामाजिक सञ्जाल कम्पनीहरूसँग समन्वय गरी यस्ता सामग्री नियन्त्रण गर्न ‘इलेक्सन डेस्क’ स्थापना गरेको जनाएको छ। विशेषगरी फेसबुक, टिकटकजस्ता प्लेटफर्म सञ्चालन गर्ने कम्पनीसँग निरन्तर सम्पर्कमा रही भ्रामक सामग्री हटाउन र रिपोर्ट गर्न ‘क्विक रेस्पोन्स’ संयन्त्र सक्रिय बनाइएको प्रवक्ता भट्टराईले जानकारी दिए। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा यस्ता भ्रामक सूचनाको ‘ट्रेन्ड एनालाइसिस’ समेत भइरहेको जनाइएको छ।
देशभर मतदाता शिक्षा अभियान अन्तिम चरणमा
निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको देशव्यापी मतदाता शिक्षा अभियान फागुन १७ मा समापन हुँदैछ। फागुन ३ देखि सुरु भएको अभियानअन्तर्गत देशभरका ६ हजार ७४३ वडामा स्वयंसेवक परिचालन गरिएको आयोगका सूचना अधिकारी सुमन घिमिरे ले जानकारी दिए।
स्वयंसेवकहरूले घरदैलोमा पुगेर नमुना मतपत्रमार्फत मतदान प्रक्रिया, गोप्य मतदानको महत्त्व, मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानी तथा आचारसंहिताबारे जानकारी दिएका छन्। आयोगले कागजजन्य सामग्री न्यून प्रयोग गर्दै ‘डिजिटल मतदाता शिक्षा’ लाई प्राथमिकता दिएको जनाएको छ। आधिकारिक फेसबुक पेज, टिकटक लगायत सामाजिक सञ्जालमार्फत भिडियो, एनिमेसन र ब्रोसर सामग्री सार्वजनिक गरिएको छ।
चुनौतीबीच अभियान
डिजिटल साक्षरताको अभाव, इन्टरनेट पहुँचको कमी, पहाडी तथा हिमाली जिल्लामा यातायात असुविधा, भाषागत विविधता र मतदाताको अनुपस्थिति जस्ता चुनौती देखिए पनि कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ। स्थानीय भाषा बोल्ने स्वयंसेवकमार्फत फरक मातृभाषी समुदायमा पनि मतदाता शिक्षा दिइएको उल्लेख गरिएको छ।
अभियानको प्रभावकारिता मूल्याङ्कन गर्न आयोगले प्रविधि प्रयोग गर्दै केन्द्रबाट दैनिक अनुगमन र रिपोर्टिङ व्यवस्था मिलाएको छ। निर्वाचनको स्वच्छता, पारदर्शिता र विश्वसनीयता कायम राख्न सही सूचना प्रवाह तथा भ्रामक सामग्री नियन्त्रणलाई प्राथमिकतामा राखिएको आयोगले स्पष्ट पारेको छ।

