वीरगञ्ज, १६ फागुन – नेपाली कांग्रेसले शनिबार पर्सामा शक्ति प्रदर्शन गर्दै दुई स्थानमा विशाल आमसभा आयोजना गरेको छ। कांग्रेस सभापति गगन थापाको प्रमुख आतिथ्यतामा आयोजना हुने ती दुवै सभामा नेपाली कांग्रेस पर्साका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ।
वीरगञ्जको बीपी उद्यान र पर्साको मिनी सदरमुकाम पोखरीमा गरी दुई स्थानमा आयोजना हुने विशाल सभालाई सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस पर्साले जनाएको छ।
कांग्रेस पर्साले दिएको जानकारी अनुसार पोखरीमा दिउँसो २ बजे र वीरगञ्जमा करिब ३ बजे सभापति थापाले जनसभालाई सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ। “बदिएको नेपाली कांग्रेस, सुध्रिएको नेपाली कांग्रेस” भन्ने नारासहित सभापति थापा पर्सा आइपुगेका छन्। यसले स्थानीय नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ।
पर्सा क्षेत्र नम्बर–४ बाट कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नेताहरूले समेत उक्त कार्यक्रममा सम्बोधन गर्नेछन्। कांग्रेस पर्साको आग्रहमा आफ्ना उम्मेदवारप्रति आम मतदाताको आकर्षण अझ सुदृढ बनाउन सभापति थापा पर्सा पुगेको जनाइएको छ।
पर्साका चारवटै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारहरू अन्य दलका उम्मेदवारसँग कडा प्रतिस्पर्धामा रहेको कांग्रेस नेताहरूको दाबी छ।

