सिरहा,१७ फागुन । सिरहाको नरहा चोकमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा प्रहरीले तीन जनामाथि निर्घात कुटपिट गरेको छ। घटना इलाका प्रहरी कार्यालय नरहाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकिशोर साह नेतृत्वको टोली, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको संयुक्त रुपमा भएको हो।
कुटपिटमा परेका २४ वर्षीय बैजु मुखिया र अन्य दुई जनाका अनुसार, जाँचका क्रममा उनीहरूसँग लाइसेन्स भए पनि ब्लु बुक नहुँदा प्रहरीले मोटरसाइकलको साँचो खोसेको थियो। मोबाइलमा ब्लु बुकको फोटो देखाएपछि बैजुलाई छोडिएको भए पनि केही दूरीमा अघि बढ्दा सई साहले थप्पड प्रहार गरेका थिए।
अर्का दुई व्यक्तिलाई भने चार–पाँच जना प्रहरीले लठ्ठी र बुटको प्रयोग गरी निर्मम कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। कुटपिटमा बढी चोट ३० वर्षीय व्यक्तिलाई लागेको बताइएको छ।
विवादपछि दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो। बैजुका अनुसार, पछि सई साहले आफ्नो मोबाइलमा भिडियो खिचाइ आफूहरूसँग “प्रहरीको गल्ती नभएको, आफ्नै गल्ती भएको” बोल्न लगाएर मोटरसाइकल फिर्ता दिएका थिए।
सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रमेशबहादुर पालले कुटपिटमा निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र प्रहरीले संलग्न देखिएको भए पनि सई साह यसमा संलग्न नरहेको दाबी गरेको जानकारी दिए। उनले भने, “यो विषयमा थप अनुसन्धान भइरहेको छ र आवश्यक कदम चालिनेछ।”

