काठमाडौं,१६ फागुन । प्युठान मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव प्रचारमा प्रयोग भइरहेको गाडीको ठक्करबाट चार जना घाइते भएका छन्।
लु १ च ७७६९ नम्बरको पिकअप जीपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना प्युठान नगरपालिका अन्तर्गत बाग्दुला नजिकै भएको हो। दुवै दुईपाङ्ग्रे सवारीमा दुई–दुई जना सवार थिए।
घाइते हुनेमा मोटरसाइकल चालक जुम्रीकाँडाका २० वर्षीय जीवन विश्वकर्मा र पछाडि बसेका २१ वर्षीय रेशम खड्का रहेका छन्। त्यस्तै, स्कुटर चालक लमही नगरपालिका–६ देउपुर, दाङका २६ वर्षीय दीपक पोख्रेल र उनकी २५ वर्षीया श्रीमती सुजता भण्डारी पनि घाइते भएका छन्।
चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

