वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले पराजय स्वीकार गर्दै निर्वाचन परिणामलाई सम्मान गर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यादवले लोकतन्त्रमा जनताको मत सर्वोच्च हुने उल्लेख गरेका छन्। अपेक्षित परिणाम हासिल गर्न नसके पनि आफूले जनताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको उनले बताएका छन्।
यादवले निर्वाचन अभियानका क्रममा साथ दिने मतदाता, समर्थक, अग्रज, युवा तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै अभियानमा दिनरात खटिएका कार्यकर्ता र सहयोगीहरूप्रति विशेष आभार व्यक्त गरेका छन्।
यसैबीच उनले विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्त (हरि पन्त) लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। क्षेत्र र राष्ट्रको हितमा पन्तले राम्रो काम गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।
दुई पटक सांसद निर्वाचित भइसकेका यादव यस पटक एमालेबाट चुनाव लडेका थिए। तर रास्वपाका हरि पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गर्दै १४ हजार २ सय ४४ मतको फराकिलो अन्तरले विजय हासिल गरेका छन्। यादवले भने १३ हजार ३० मत प्राप्त गरेका छन्।
पराजयपछि पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता यादवले व्यक्त गरेका छन्।

