काठमाडौं,२३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि मिश्रले सामाजिक सञ्जालमार्फत तत्कालका लागि राजनीतिबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।
वक्तव्यमा उनले आफ्नो निर्णय निराशा वा हतारमा नभई लामो सोच–विचारपछि लिएको स्पष्ट पारेका छन्। “मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश वा हतारमा लिएको होइन, धेरै सोचिविचारपछि लिएको निर्णय हो,” उनले उल्लेख गरेका छन्।
मिश्रले पार्टीको वरिष्ठ उपाध्यक्षका रूपमा राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेको जनमतलाई संगठित गर्न नसकेको जिम्मेवारी पनि आफूले लिएको बताएका छन्। देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा जनमत भए पनि विभिन्न कारणले त्यसलाई प्रभावकारी रूपमा संगठित गर्न पार्टी असफल भएको उनको भनाइ छ।
देशको बदलिँदो भूराजनीतिक अवस्था र आन्तरिक परिस्थितिलाई ध्यानमा राख्दै आफू यस्तो निष्कर्षमा पुगेको उनले बताएका छन्। साथै उनले गैरदलीय राजनीति, सुशासन तथा राजसंस्था पुनर्स्थापनाका मुद्दामा आफ्नो वैचारिक अडान भने यथावत रहने उल्लेख गरेका छन्।
आफ्नो करिब ९ वर्षको राजनीतिक यात्राबारे उल्लेख गर्दै मिश्रले देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। उनले ‘देशभन्दा माथि स्वार्थ’ राखेर कुनै काम नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
मिश्र यसअघि २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं–१ बाट पराजित भएका थिए। यसपटकको पराजयसहित उनले सोही क्षेत्रबाट लगातार तेस्रो पटक हार व्यहोरेका छन्।

