गुल्मी,२३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सागर ढकालले गुल्मी क्षेत्र नम्बर १ बाट आफ्नो जित सुनिश्चित भएपछि जनताले दिएको समर्थनलाई ठूलो जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ढकालले अब विजय उत्सव मनाउनेभन्दा पनि काम गरेर नतिजा देखाउने समय आएको उल्लेख गरेका छन्। उनका अनुसार अब विजय र्यालीभन्दा पनि परिणामको र्याली देखाउनु आफ्नो मुख्य प्राथमिकता हुनेछ।
निर्वाचन परिणाम आउने क्रममै आफूले काम सुरु गरिसकेको भन्दै उनले मतगणना चलिरहँदा नै गुल्मीमा अलपत्र परेको एक सिँचाइ योजनाको निरीक्षण गरेको र त्यसको समाधान खोज्ने प्रयास थालेको जानकारी दिएका छन्।
ढकालले आगामी दिनमा नीतिगत तहबाट नयाँ पहलहरू सुरु हुने बताउँदै अबका पाँच वर्ष गफभन्दा पनि परिणामले बोल्ने दाबी गरेका छन्। जनताले राखेको विश्वासलाई उपलब्धिमा बदल्नु नै आफ्नो मुख्य लक्ष्य रहेको उनले बताए।
उनले चुनावमा विजयी वा पराजित जे भए पनि राजनीतिक आस्थाका आधारमा कसैप्रति भेदभाव नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “जुनसुकै पार्टीमा आबद्ध भए पनि सबै नेपाली हुन्, सबैलाई समान व्यवहार र माया गर्नेछु,” उनले भने।
साथै उनले मतदाता र समर्थकलाई फूलमाला वा प्रशंसाभन्दा पनि कामका सुझाव दिन आग्रह गर्दै देशका लागि सबै नेपाली एक भएर अघि बढ्नुपर्ने सन्देश दिएका छन्।

