रौतहटमा प्रभु साहको गढ ढल्यो, क्षेत्र नं. ३ बाट रास्वपाका रविन्द्र पटेल भारी मतान्तरले विजयी

spot_img

रौतहट, २४ फागुन — जेनजी आन्दोलनपछि सम्पन्न भएको पहिलो लोकतान्त्रिक निर्वाचनले रौतहटका प्रभावशाली नेता प्रभु साहको राजनीतिक गढ समेत ढालिदिएको छ। कम्युनिष्ट राजनीतिबाट उदाएका साह मधेशमा विकासवादी नेताको रूपमा चर्चित मानिन्थे। तर यस पटकको निर्वाचनमा उनको प्रभाव कायम रहन सकेन।

रौतहट निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन्द्र पटेल २७ हजार ३१८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार गोविन्द चौधरी लाई १५ हजार ३६४ मतान्तरले पराजित गरेका हुन्। चौधरीले ११ हजार ९५४ मत प्राप्त गरेका छन्।

यसैगरी आम जनता पार्टी का अध्यक्ष प्रभु साह ले ९ हजार ८९० मत प्राप्त गरे भने नेकपा एमाले का उम्मेदवार कुन्दन प्रसाद कुशवाहा ले ६ हजार ६०५ मत ल्याएका छन्। यसपटकको निर्वाचनमा प्रभु साह दोस्रो स्थानमा समेत आउन नसक्नु उनको राजनीतिक यात्राका लागि ठूलो धक्का मानिएको छ।

यससँगै रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। चारमध्ये तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् भने रौतहट क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेस का उम्मेदवारले जीत हासिल गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय