वीरगंज, २५ फागुन – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्साका अध्यक्ष रामनरेश यादवकै वडामा पार्टीको चुनाव चिह्न ‘छाता’ ले जम्मा २५ मत मात्र पाएपछि पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार अशोक टेमानी गम्भीर अवस्थामा पुगेका छन्।
चुनाव जिताउने आश्वासन दिँदै अगाडि आएका जसपा नेपालका नेता मोहम्मद लालबाबु राउत गद्दी र पर्सा अध्यक्ष रामनरेश यादवकै गाउँमा पार्टीले लज्जास्पद मत प्राप्त गरेपछि उनीहरूको जनाधारमाथि गम्भीर प्रश्न उठेको छ। आफ्नै अध्यक्षको वडाबाट यति न्यून मत आउनु पार्टीभित्रै ठूलो राजनीतिक चर्चाको विषय बनेको छ। छाताले पाएको मत परिमाणले टेमानीको राजनितिक कोमामा पगेको राजनितिक बृतमा चर्चा छ ।
स्रोतका अनुसार अध्यक्ष यादवले “जिताउने ग्यारेन्टी” दिँदै उम्मेदवार अशोक टेमानीसँग ठूलो रकमको लेनदेन गरी टिकट दिलाएको आरोप समेत लागेको छ। चुनावमा आफू सारथी बन्ने दाबी गरेका यादवले टेमानीलाई भरोसा दिलाएका थिए। तर परिणाम सार्वजनिक हुँदा अध्यक्षकै वडाबाट अत्यन्त न्यून मत आउनुले उनको प्रभाव र विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा भएको छ।
निर्वाचन परिणामपछि उम्मेदवार टेमानी आफूलाई पार्टीकै नेताहरूले झुटो आश्वासन दिएर गुमराह गरेको भन्दै आश्चर्यचकित र निराश भएका बताइएको छ।
वीरगंज महानगरपालिका–२८ मा जसपा नेपालले पाएको मत परिणामले अध्यक्ष रामनरेश यादवसँग कुनै वास्तविक जनमत नरहेको स्पष्ट भएको जसपा नेपालकै केही नेताहरूले टिप्पणी गरेका छन्। अध्यक्ष स्वयंले आफ्नो वडामा समेत पार्टीलाई मत दिलाउन नसक्दा पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अशोक टेमानीको जमानत जफत भएको छ। पार्टीकै जिल्ला अध्यक्ष जस्तो महत्वपूर्ण पदमा रहेका नेताको वडाबाट मात्र २५ मत आएपछि आफूहरू समेत आश्चर्यचकित भएको मतगणनामा सहभागी एक प्रतिनिधिले बताए ।

