बीरगन्ज,२७ फागुन । पर्साको पकहा मैनपुर गाउँपालिका मा नेकपा एमाले का गाउँपालिका कमिटी अध्यक्ष अकलेश कुमार साहसहित तीन जना नेताले पार्टी परित्याग गरेका छन्।
अध्यक्ष अकलेश कुमार साहले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् एक स्टाटस लेख्दै आजकै मितिदेखि लागू हुने गरी आफूले पार्टीको साधारण सदस्यता समेत नरहने गरी एमाले त्याग गरेको घोषणा गरेका हुन्। उनीसँगै गाउँपालिका कमिटी सचिव राजेश सहनी र जिल्ला कमिटी सदस्य प्रमोद पटेलले पनि पार्टी छाड्ने निर्णय गरेको बताएका छन्।
साहले २०७० सालदेखि एमालेमा सक्रिय रूपमा काम गर्दै आएको उल्लेख गर्दै आफूले गाउँपालिका कमिटी अध्यक्षका साथै अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघको केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज लगायत विभिन्न जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्दै आएको बताएका छन्।
तर पछिल्लो समय पार्टीभित्र विधि, पद्धति र संगठनात्मक मूल्य–मान्यताभन्दा माथि नातावाद, कृपावाद, व्यक्तिवाद तथा आर्थिक चलखेलको संस्कृति बढ्दै गएको उनले आरोप लगाएका छन्। पार्टीको मूल आदर्श र कार्यकर्ताको त्याग–समर्पणलाई बेवास्ता गर्दै सीमित व्यक्तिहरूको गुटगत स्वार्थलाई प्राथमिकता दिइएकोप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।
उनका अनुसार वर्षौंदेखि योगदान दिएका इमानदार कार्यकर्ताहरूलाई उपेक्षा गरिनु, निर्णय प्रक्रियामा पारदर्शिता नअपनाइनु तथा संगठनलाई व्यक्तिगत स्वार्थको साधन बनाउने प्रवृत्तिले पार्टीको नैतिक आधार कमजोर बनाएको छ।
पार्टीभित्र सुधारको कुनै संकेत नदेखिएको र संगठनलाई गलत दिशातर्फ लैजाने गतिविधि निरन्तर भइरहेकाले यस्तो वातावरणमा बसिरहनु उपयुक्त नठानी आफूले पार्टी परित्याग गरेको साहले बताएका छन्।
साहले आगामी दिनमा सत्य, पारदर्शिता, सामाजिक न्याय र जनताको हितका पक्षमा दृढतापूर्वक उभिँदै सामाजिक तथा राजनीतिक रूपमा सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

