सर्लाही,०३ चैत । कबिलासी नगरपालिका–१० स्थित चमेलीमाई क्षेत्र नजिकैको एक फन पार्कमा एक युवकमाथि अमानवीय ढंगले कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
फागुन २३ गते अपराह्न करिब ४ बजेतिर प्रमित कुमार यादव (१९) माथि एक समूहले नांगो बनाएर निर्घात कुटपिट गरेको आरोप छ। घटनापछि फागुन २९ गते पीडित पक्षबाट जाहेरी परेपछि अनुसन्धान अघि बढाइएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जाहेरी परेको सोही दिन प्रतिवादीमध्ये रोहित कुमार यादवलाई पक्राउ गरिएको छ। उनलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले व्यापक ध्यान तानेको थियो। भिडियोमा पीडितमाथि कुटपिट भइरहेको र उनी आत्तिँदै कराइरहेको अवस्था देखिन्छ। त्यहाँ उपस्थित अन्य व्यक्तिहरूले हस्तक्षेप नगरेको पनि देखिएको छ।
प्रारम्भिक अनुसन्धानमा सामान्य विवाद र गालीगलौजका कारण झगडा भएको अनुमान गरिएको छ। यद्यपि घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप तथ्यहरू अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ भने दोषीमाथि कानुनी कारबाही अघि बढाइने बताएको छ।




