चलचित्र पत्रकार संघ पर्साद्वारा सांसद पन्तलाई सम्मान

spot_img

वीरगन्ज,०६ चैत । चलचित्र पत्रकार संघ नेपाल, पर्साले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बुद्धि प्रसाद (हरि) पन्तलाई बधाई र शुभकामना व्यक्त गर्दै सम्मान गरेको छ।

शुक्रवार वीरगञ्जमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सूर्यनारायण वि.क.सहितका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पन्तलाई सम्मान गर्दै सफल कार्यकालको कामना गरेका थिए। अध्यक्ष सूर्यनारायण वि.क.ले कार्यक्रममा पर्सा र समग्र मधेश प्रदेशको पर्यटन प्रवद्र्धनका लागि चलचित्रमार्फत विशेष पहल गर्नुपर्नेमा जोड दिए। उनले क्षेत्रका धार्मिक र ऐतिहासिक स्थलको प्रभावकारी प्रचारप्रसार नहुँदा पर्यटन सम्भावना पूर्णरूपमा उपयोग हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

संघका कार्यसमिति सदस्य जय यादवले बिन्दबासिनी, भाठाधाम र पारसनाथ मन्दिरजस्ता धार्मिक स्थलको संरक्षण, व्यवस्थापन र प्रवद्र्धनमा ध्यान दिनुपर्ने उल्लेख गरे। साथै, पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय कोरिडोरका रूपमा विकास गर्दा अर्थोपार्जन र स्थानीय नागरिकको जीविकोपार्जनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे।

सांसद पन्तले आफू सांसदका रूपमा नीतिगत र संरचनागत तहमा पहल गर्दै क्षेत्रको समग्र विकासमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए। उनले आफू होटल र पर्यटन व्यवसायीसँगै चलचित्र निर्माता भएको उल्लेख गर्दै “हाम्रो क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ” भने।

पन्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति समेत हुन् र नेपाली चलचित्र ‘राजनीति’ र ‘मेला’ का निर्माता हुन्। कार्यक्रममा संघका उपाध्यक्ष आनन्द पटेल, सचिव रन्जित यादव, सदस्य सन्तोष कुशवाहा र अखिल पटेललगायतको पनि उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय