काठमाडौं,०६ चैत । अर्जुननरसिंह केसी ले नेपाली कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको नेतामा दाबी गर्ने घोषणा गरेका छन्।
समानुपातिक प्रणालीबाट निर्वाचित सांसद केसीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूसँग आफ्नो दाबेदारी सार्वजनिक गरेका हुन्।
केसीले आफू पार्टीभित्र सबैभन्दा वरिष्ठ नेतामध्ये एक भएकाले संसदीय दलको नेतामा दाबी स्वाभाविक रहेको बताए। “म सबैभन्दा सिनियर नेता हुँ, संसदीय अभ्यास र यात्रामा मेरो लामो अनुभव छ,” उनले भने, “२०४७ यताका संसदीय अभ्यासमा मेरो महत्वपूर्ण भूमिका रहँदै आएको छ।”
उनले संसदीय दलको नेता चयन सहमतिमै होस् भन्ने आफ्नो प्राथमिकता रहेको पनि स्पष्ट पारे।
नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको चयनलाई लिएर आन्तरिक छलफल तीव्र भइरहेका बेला केसीको दाबेदारीले प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।

