काठमाडौँ,०७ चैत । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिताबारे छानबिन गर्नुपर्ने माग गरेका छन्।
शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै साहले निर्वाचन शान्तिपूर्ण भएको भनिए पनि अनेक प्रश्न उठेको बताए। उनले निर्वाचन आयोग र सरकारको भूमिका माथि चिन्ता व्यक्त गर्दै भने, “निर्वाचन आचारसंहिता उल्लङ्घन हुँदा समेत मौन बस्नु र एकपक्षीय प्रचार रोक्न नसक्नु गम्भीर प्रश्न उठाउँछ।”
साथै, साहले मिडिया र सामाजिक सञ्जालको निष्पक्षतामाथि पनि प्रश्न उठाए। फेक आइडीको दुरुपयोग र मिडियाको एकपक्षीय प्रचार रोक्न नसक्नु निर्वाचन आयोग र सरकारको असफलताको उदाहरण भएको उनले बताए।
उनले मधेसी दलितको प्रतिनिधित्व नहुनुलाई संविधान र व्यवस्थाको असफलता ठहर गर्दै, २७५ सदस्यीय प्रतिनिधिसभामा मधेसी दलितको उपस्थिति नभएकोमा आयोगसँग जवाफ माग्ने बताए।
त्यसैगरी, हालै आएको हावाहुरी, असिना र पानीका कारण देशभर गहुँ, मकै, केरा लगायत बालीमा क्षति भएको प्रति दुःख व्यक्त गर्दै साहले किसानहरूलाई उचित क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरे।




