रौतहट,१३ चैत । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा बसोबास गर्ने एक व्यापारीमाथि नेपाली नागरिकता दुरुपयोग र अवैध ‘मिटर ब्याज’ कारोबार सञ्चालन गरेको आरोप सार्वजनिक भएपछि छानबिनको माग तीव्र भएको छ।
स्थानीयका अनुसार रामबाबुप्रसाद कलवारले २०५५ सालमा जिल्ला प्रशासन कार्यालय गौरबाट वंशजका आधारमा नेपाली नागरिकता लिएका थिए। तर उनीसँग भारतको बिहार राज्यबाट जारी गरिएको मतदाता परिचयपत्र समेत रहेको दाबी गरिएको छ, जसले दोहोरो नागरिकताको आशंका बढाएको छ।
यस विषयमा स्थानीय रामबाबु साहले इलाका प्रशासन कार्यालयमा निवेदन दिँदै नागरिकता प्रक्रिया शंकास्पद रहेको भन्दै छानबिनको माग गरेका छन्।
दिनेशसागर भुसालका अनुसार प्रहरीले अनुसन्धान गरिरहेको र प्रतिवेदनका आधारमा नागरिकता ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ। नक्कली नागरिकता बनाउने वा प्रयोग गर्ने कार्य गम्भीर अपराध भएको उल्लेख गर्दै दोषी ठहरिए १ देखि ५ वर्षसम्म कैद र जरिवाना हुन सक्ने उनले बताए।
यसैबीच, ती व्यापारीमाथि कपडाको व्यापारको आडमा ‘मिटर ब्याज’ मार्फत चर्को ब्याज असुल्ने आरोप पनि लागेको छ। पीडितहरूले अत्यधिक ब्याजका कारण आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन्।
स्थानीयका अनुसार यस्तो गतिविधिले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढाएको, साना व्यापारी विस्थापित हुने अवस्था आएको र सर्वसाधारणमा त्रास फैलिएको छ। दुवै आरोपबारे निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।

