काठमाडौं,२० चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दै रास्वपाका उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने घोषणा गरेको छ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार संसदमा रास्वपाको दुई तिहाइ बहुमत भएकाले सभामुख पदमा उनीहरूको दाबी स्वाभाविक रहेको भन्दै समर्थन गर्ने निर्णय गरिएको हो।
रास्वपाका उपसभापति अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्। संसदमा बहुमतको आधारमा उनको जित लगभग सुनिश्चित मानिएको छ।
यद्यपि, नेकपाले उपसभामुख पदमा भने आफ्नो दाबी कायम राखेको छ। सहमति जुटेमा उक्त पदमा उम्मेदवारी दिने तयारी रहेको पार्टीका नेताहरूले बताएका छन्।
यसैबीच, नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरिसकेको छ। कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसदको गरिमा र निष्पक्षता कायम राख्ने उद्देश्यले प्रतिस्पर्धाबाट बाहिर रहने बताएका छन्।
मुख्य दलहरू प्रतिस्पर्धाबाट पछि हटेसँगै सभामुख चयन प्रक्रिया अब रास्वपाको पक्षमा सहज देखिएको छ।

