बारा,२० चैत । बाराको जीतपुर क्षेत्रमा ६ लेन राजमार्ग आसपास फैलिएको फुटपाथ अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको छ। जीतपुरसिमरा उपमहानगरपालिका ले शनिबारसम्मको समयसीमा तोक्दै सडक र फुटपाथ खाली गर्न निर्देशन दिएको हो।
उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकपछि नगर प्रमुख राजन पौडेल ले सडक अतिक्रमण नियन्त्रणलाई कडाइका साथ कार्यान्वयन गरिने बताएका छन्। उनका अनुसार राजमार्गको सौन्दर्य, सवारी आवागमनको सहजता तथा पैदलयात्रीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो।
पटक–पटकको सूचनापछि पनि फुटपाथ व्यवसाय हट्न नसकेपछि अहिले कडा निर्णय लिनुपरेको जनाइएको छ। सडक छेकेर व्यापार सञ्चालन हुँदा ट्राफिक जाम, दुर्घटनाको जोखिम र सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको भन्दै गुनासो बढेको थियो।
उपमहानगरपालिकाले तोकिएको समयभित्र स्वयं अतिक्रमण हटाउन आग्रह गरेको छ। अन्यथा चैत २२ गतेदेखि बलपूर्वक हटाइने र अटेर गर्ने व्यवसायीमाथि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
साथै, साना व्यवसायीलाई व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने विकल्पबारे पनि छलफल भइरहेको बताइएको छ। स्थानीय बासिन्दाले भने सडक खुला गराउने निर्णयको स्वागत गर्दै यसले ट्राफिक व्यवस्थापन सहज र बजार क्षेत्र व्यवस्थित बन्ने अपेक्षा गरेका छन्।

