काठमाडाै,२१ चैत । मध्यपूर्वको तनावका कारण भारतमा पानीको भाउ बढेको छ । बोतलमा राखेको पानी बेच्ने सबैभन्दा ठूलो कम्पनी बिस्लेरीले ११ प्रतिशतले मूल्य बढाएको छ । बेइली, क्लअर प्रिमिअम वाटरलगायत अन्य कम्पनीले पनि मूल्यवृद्धि गरेका समाचारसंस्था रोएटर्सले जनाएको छ ।
पानी व्यवसायमा आवश्यक कच्चा पदार्थमा देखिएको अभावका कारण भाउ बढेको हो । बोतल निर्माताहरूले मध्यपूर्वको युद्ध लम्बिएमा बोतलको पानी धेरै भारतीयको पहुँचबाहिर पुग्ने गरी महँगो बन्न सक्ने चेतावनी दिएका छन् । बोतल तथा जार बनाउन कच्चा तेल प्रशोधनबाट निस्कने पदार्थ प्रयोग हुन्छ र अहिले विश्वबजारमा कच्चा तेलको भाउ बढ्नुका साथै अभाव समेत देखिएको छ ।
भारतमा प्याकेजिङ गरेको पानीको व्यापार वार्षिक ६ अर्ब रुपैयाँ बराबर छ । अहिले कतिपय भू–भागमा तापक्रम ४५ सेल्सिअस नाघ्न थालेकोले पानीको माग झनै बढेको छ ।
डेटा फर इन्डिया नामक संस्थाको अध्ययनअनुसार भारतीय सहरका १५ प्रतिशत र ग्रामीण क्षेत्रका ६ प्रतिशत घरधुरी पिउने पानीका लागि बोतलबन्द पानीमा निर्भर छन् । पानीको अभाव, मूलमा हुने प्रदूषण र पूर्वाधारका कमीले ग्रामीण क्षेत्रमा समेत बोतलबन्द पानीमा निर्भर हुनुपरेको छ ।

