बीरगन्ज,२२ चैत । पर्साको बीरगन्ज महानगरपालिका–२, छपकैया स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा शुद्ध खानेपानीको सुविधा विस्तार गरिएको छ।
सेवाग्राही, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहजताका लागि केन्द्रमा १०० लिटर क्षमताको आरओ (RO) वाटर फिल्टर कूलर जडान गरिएको हो।
उक्त उपकरण सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्यासुद्दिन ठाकुराइको पहलमा र रुङ्टा वेलफेयर सोसाइटीका प्रतिनिधि सुरेश रुङ्टाको सहयोगमा उपलब्ध गराइएको जनाइएको छ।
अध्यक्ष ठाकुराइका अनुसार केन्द्रमा दैनिक आउने सेवाग्राही र ड्युटीमा खटिने सुरक्षाकर्मीको स्वास्थ्य र सुविधा ध्यानमा राख्दै शुद्ध खानेपानीको व्यवस्था गरिएको हो।
उनले भने, “सेवा केन्द्रमा आउने नागरिक र प्रहरी दुवैका लागि आधारभूत सुविधा सुनिश्चित गर्नु हाम्रो जिम्मेवारी हो। यसले सेवा प्रवाहलाई अझ सहज बनाउनेछ।”
शुद्ध खानेपानीको व्यवस्था भएपछि सेवा लिन आउने सर्वसाधारण तथा प्रहरी कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
सेवा केन्द्रले सहयोग गर्ने संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

