रौतहट,१३ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती टोलमा सडक र नाला निर्माणमा अनियमितता भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। निर्माण कार्य गुणस्तरहीन भएको र सरकारी निकायभित्रै मिलेमतो भएको आरोप स्थानीयले लगाएका छन्।
स्थानीयका अनुसार सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत इन्जिनियर सुरेन्द्र शाहले आफन्तको नाममा निर्माण कम्पनी दर्ता गराई सोही कम्पनीमार्फत निर्माण कार्य अघि बढाइएको हो। उक्त कम्पनीमार्फत भइरहेको काममा प्रारम्भदेखि नै कमसल सामग्री प्रयोग भएको र प्राविधिक मापदण्ड पालना नगरिएको आरोप छ।
सडक डिभिजन कार्यालयले वडामा सडक तथा नाला निर्माणका लागि करिब १ करोड ८३ लाख रुपैयाँभन्दा बढीको ठेक्का दिएको थियो। सो ठेक्का श्री गायत्री माँ/एस.के.एस.ए.जे.भी जनकपुरले लिएको हो, जसका संचालक इन्जिनियर शाहका काका भएको स्थानीयको दाबी छ।
स्थानीय उपेन्द्र यादवले सडक ग्रेडिङ नगरी हतारमा ढुंगा बिछ्याउने र नालामा कमजोर सामग्री प्रयोग गर्ने काम भएको आरोप लगाए। उनका अनुसार गुणस्तरविहीन निर्माणले दीर्घकालीन समस्या निम्त्याउने देखिन्छ।
विरोधपछि प्राविधिक टोली दलबलसहित स्थलमा पुगेको र त्यहाँ केही समय तनावपूर्ण अवस्था बनेको स्थानीयले बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सम्बन्धित प्राविधिकले आफू इन्जिनियर भएको भन्दै काममा अवरोध नगर्न चेतावनी दिएको देखिएको पनि स्थानीयको भनाइ छ। स्थानीयले सरकारी कर्मचारी आफैं निर्माण प्रक्रियामा संलग्न हुनु गम्भीर विषय भएको भन्दै छानबिनको माग गरेका छन्। उनीहरूले गुणस्तरहीन काम तत्काल रोक्न र पारदर्शिता कायम गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

