काठमाडौँ,१५ वैशाख । नेपाली कांग्रेसभित्र आन्तरिक राजनीतिक गतिविधि तीव्र भइरहेका बेला शेरबहादुर देउवा पक्षले बोलाएको भेलामा डा. शेखर कोइराला समूह सहभागी नहुने भएको छ।
शेखर समूहका नेता जीवन परियारका अनुसार देउवा पक्षले आयोजना गरेको भेलामा उनीहरू नजाने निर्णय गरिएको हो।
देउवा पक्षका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाराजगञ्जस्थित एक होटलमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूको भेला आह्वान गरेका छन्।
भेलाबारे जानकारी पाएपछि डा. शेखर कोइरालाले आफूहरू उपस्थित नहुने स्पष्ट पारेका छन्। उनले “तपाईंहरू भेला गर्नुस्, आफ्नो धारणा बनाउनुस्, तर हामी सहभागी हुँदैनौँ” भन्ने सन्देश दिएको उनी निकट स्रोतले जनाएको छ।
यो घटनाले कांग्रेसभित्रको गुटगत दूरी अझै स्पष्ट रूपमा देखिएको विश्लेषण गरिएको छ।

