रौतहट,१५ वैशाख । रौतहटको गौर नगरपालिकाको बैंक खाता बन्द भएपछि नगरपालिकाको दैनिक प्रशासनिक तथा आर्थिक कामकाज प्रभावित बनेको छ।
नगर प्रमुख शम्भु साह र प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा लेखा अधिकृत छैटौँ सोहेल अन्सारी को नाममा खाता सञ्चालन गरिएको थियो। तर, सञ्चालन भएको केही घण्टामै लेखा अधिकृत सातौँ सोहनकुमार यादव ले आफू वरिष्ठ भएको दाबी गर्दै आफ्नो नाममा खाता हुनुपर्ने मागसहित निवेदन दिएपछि खाता बन्द गरिएको हो।
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहट का प्रमुख देवीप्रसाद गौतम का अनुसार दुवै पक्षको दाबी आएपछि हाललाई सम्पूर्ण खाता बन्द गरिएको हो। नगरपालिकाले २०८२ चैत २४ गतेकै कार्यपालिका बैठकबाट अन्सारीकै नाममा खाता सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। २०७७ सालदेखि नै सोही नाममा खाता सञ्चालन हुँदै आएको पनि नगरपालिकाको भनाइ छ।
यता यादवले आफू वरिष्ठ कर्मचारी भएको र लामो समयदेखि काममा नलगाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। खाता बन्द भएपछि तलब भुक्तानी, योजना खर्च तथा अन्य प्रशासनिक कामहरू प्रभावित भएका छन्। अब महालेखा नियन्त्रक कार्यालय वा जिल्ला प्रशासन कार्यालयको स्पष्ट निर्देशनपछि मात्र खाता पुनः सञ्चालन हुने बताइएको छ।

