काठमाडौं,२६ वैशाख । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकैदिन ठूलो संख्यामा सवारी नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गर्दै राज्यकोषमा २२ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार कुल २ हजार ३४ सवारी चालक विभिन्न ट्राफिक नियम उल्लङ्घनमा कारबाहीमा परेका हुन्।
कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरेका १४० जना, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गरेका १८४ जना र ट्राफिक संकेत उल्लङ्घन गर्ने ८७ जना रहेका छन्। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने २१० जनामाथि पनि कारबाही गरिएको छ।
यस्तै लेन अनुशासन पालना नगर्ने १२० जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा पार्किङ गर्ने ९६ जना, एकतर्फी सडकमा सवारी चलाउने ११० जना तथा अन्य नियम उल्लङ्घन गर्ने १ हजार २९ जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।
ट्राफिक प्रहरीले सवारी अनुशासन कडाइका साथ लागू गर्दै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणलाई प्राथमिकता दिइरहेको जनाएको छ।




