बीरगन्ज,२९ वैशाख । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मधेस प्रदेशसहित देशका अधिकांश क्षेत्रमा मौसम बदली हुने तथा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय क्षेत्रको संयुक्त प्रभावका कारण मौसममा परिवर्तन आएको हो। मंगलबार बिहानदेखि पहाडी भूभागमा बदली सुरु भएको छ भने मधेस क्षेत्रमा आंशिक बदली देखिएको छ।
पूर्वानुमानअनुसार रातिदेखि मौसममा थप परिवर्तन आउनेछ। विशेषगरी मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्ग तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराई–मधेसका केही क्षेत्रमा वर्षासँगै हावाहुरी चल्ने जोखिम पनि रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। खुला स्थानमा काम गर्ने, यात्रा गर्ने तथा चट्याङ्गबाट प्रभावित हुन सक्ने गतिविधिमा सावधानी अपनाउन सुझाव दिइएको छ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा अहिले नै वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको बताइएको छ।
मौसममा आएको परिवर्तनले अत्यधिक गर्मीबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ। विशेषगरी रातिको वर्षाले तराई–मधेस क्षेत्रमा तापक्रम केही घट्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




