काठमाडौँ,२० जेठ । सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको प्राविधिक धारको पढाइ विद्यार्थी अभावका कारण संकटमा परेको छ। धेरै विद्यालयमा भर्ना हुने विद्यार्थी घट्दै गएपछि यो कार्यक्रम नै बन्द हुने अवस्थामा पुगेको छ।
सरकारले २०७० सालदेखि विद्यार्थीलाई सीपमूलक शिक्षा दिने उद्देश्यले सामुदायिक विद्यालयमा प्राविधिक धारको पढाइ सुरु गरेको थियो। यसअन्तर्गत कक्षा ९ देखि १२ सम्म इन्जिनियरिङ, कृषि तथा जीवविज्ञानसम्बन्धी विषयहरू पढाइ हुँदै आएको छ।
तर पछिल्लो समय पर्याप्त विद्यार्थी भर्ना नहुँदा धेरै विद्यालयमा कार्यक्रम सञ्चालन नै कठिन बन्दै गएको छ। हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमतिमा ५३५ वटा सामुदायिक विद्यालयले प्राविधिक धार सञ्चालन गरिरहेका छन् भने केही प्रदेश र स्थानीय तहका थप विद्यालय पनि समावेश छन्।
केन्द्रका अनुसार तीमध्ये दुई विद्यालय बन्द भइसकेका छन् भने धेरै विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून छ। अध्ययनअनुसार कक्षा ९ मा औसत २६ विद्यार्थी भर्ना हुने गरे पनि कक्षा ११ सम्म पुग्दा त्यो संख्या घटेर करिब १५ मा सीमित हुने गरेको छ। केही विद्यालयमा १४ भन्दा कम विद्यार्थी मात्रै रहेको तथ्याङ्क पनि छ।
विद्यालयहरूले प्राविधिक धार सञ्चालनका लागि प्रति विद्यार्थी वार्षिक १५ हजार रुपैयाँ र प्रयोगशाला निर्माणका लागि दुई लाख रुपैयाँ अनुदान पाउँदै आएका छन्। तर विद्यार्थी आकर्षण घटेपछि धेरै विद्यालयले कार्यक्रम निरन्तर राख्ने कि बन्द गर्ने भन्ने दोधारमा पुगेका छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेका अनुसार धेरै विद्यालयले अब प्राविधिक धार सञ्चालन गर्न नसकिने जानकारी दिएका छन्। यद्यपि, अझै पनि केही विद्यालयले नयाँ अनुमति माग गर्दै आएका छन्।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) मार्फत पनि समानान्तर रूपमा प्राविधिक शिक्षा सञ्चालन भइरहेको छ, जसका कारण विद्यालयस्तरीय प्राविधिक धारको प्रभावकारितामाथि पहिले नै प्रश्न उठ्दै आएको थियो।
विशेषज्ञहरूका अनुसार दोहोरो संरचना र सीमित रोजगारी अवसरका कारण विद्यालय तहको प्राविधिक शिक्षा अपेक्षित रूपमा सफल हुन नसकेको देखिएको छ।




