काठमाडौँ,०३ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा उपयोग गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार जारी गरेको सूचनामा अध्ययन बिदा पूरा गरेपछि पनि विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्केका वा तोकिएको सेवा अवधि पूरा नगरी जागिर छाडेका शिक्षक–कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क गर्न भनिएको छ।
त्रिविले तोकिएको समयभित्र सम्पर्कमा नआए सम्बन्धित व्यक्तिसँग गरिएको कबुलियतनामा तथा प्रचलित नियमअनुसार कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ।
विश्वविद्यालयका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ। यो अभियान शिक्षा तथा खेलकुद मन्त्रालयको पहल र त्रिविको सक्रियतामा सञ्चालन भइरहेको जनाइएको छ।
त्रिविले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। तर केही प्राध्यापकहरूले अध्ययन पूरा गरेपछि सेवामा नफर्किँदा विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको बताएको छ।
विश्वविद्यालयले अध्ययन बिदा लिने शिक्षक–कर्मचारीले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली तथा आवश्यक कानुनी प्रक्रिया निरन्तर अगाडि बढाइने जनाएको छ।




