बीरगन्ज,०२ असार । बीरगन्जको मुख्य सडक क्षेत्रभित्र रहेका अवैध तथा सडक सीमामा पर्ने संरचनाहरू हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले पाँच दिनको अन्तिम समयसीमा दिएको छ। कार्यालयले निर्धारित अवधिभित्र संरचना नहटाए कानुनी प्रक्रिया अनुसार आफैँ डोजर प्रयोग गरी हटाउने जनाएको छ।
डिभिजन प्रमुख किरण कार्कीका अनुसार त्रिभुवन राजपथअन्तर्गत सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रलाई सडक सीमा कायम गर्ने काम यसअघि नै सुरु भइसकेको छ।
सडक विस्तार तथा सीमा संरक्षण अभियानका क्रममा धेरै भवनहरू आंशिक रूपमा भत्काइएका थिए। तर केही घरधनी तथा व्यवसायीहरूले ती संरचनाहरू पूर्ण रूपमा नहटाई अझै पनि जोखिमयुक्त भवनमै बसोबास र व्यापार सञ्चालन गरिरहेको पाइएको कार्यालयले जनाएको छ।
सडक डिभिजनले यस्ता क्षतिग्रस्त तथा जोखिमपूर्ण भवनहरू तत्काल खाली गर्न आग्रह गर्दै पाँच दिनभित्र बाँकी संरचना हटाउन अन्तिम अल्टिमेटम दिएको हो। कार्यालयले सूचनाको बेवास्ता गरेपछि हुने दुर्घटना वा क्षतिप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने चेतावनी समेत दिएको छ।
सडक डिभिजनको यो कदमसँगै वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण हटाउने अभियान थप कडाइका साथ अगाडि बढ्ने देखिएको छ।




