काठमाडौं,०३ असार । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएपछि धेरै नागरिक बेघर भएको भन्दै उनीहरूको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको निर्देशनमा गरिएको भनिएको कारबाहीका कारण बस्तीहरू हटाइँदा नागरिकहरू खुला आकाशमुनि बस्न बाध्य भएको दाबी गरे। उनका अनुसार अहिले प्रभावित परिवारहरू विभिन्न अस्थायी आश्रयस्थल, विशेषगरी कृतिपुरलगायतका स्थानका होल्डिङ सेन्टरमा बसिरहेका छन्, जहाँ आधारभूत सुविधा समेत अपर्याप्त रहेको उनको भनाइ थियो।
साम्पाङले संसदमा प्रधानमन्त्रीसँग सम्बन्धित सिमाना विषयक अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने आफ्नो दलको माग यथावत रहेको पनि बताए। साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई उठाइएका प्रश्नहरूको जवाफ दिनुपर्ने उनले माग गरे।
उनले संसदको ‘सेकेन्ड लट’ प्रक्रिया सुरु गर्ने समय आएको उल्लेख गर्दै सरकारको प्राथमिकता सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।
उनका अनुसार प्रभावित नागरिकहरू नेपाली नागरिक भएकाले उनीहरूको आवास, खाना र पानीजस्ता आधारभूत आवश्यकताको व्यवस्थापनमा सरकार गम्भीर हुन जरुरी छ।




