चिया बजारको पहिचान र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइनेछ : मन्त्री चौधरी

spot_img

काठमाडौँ,१५ वैशाख ।  कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी ले नेपाली चिया उद्योगको विस्तार, नयाँ अन्तर्राष्ट्रिय बजार पहिचान र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने सरकारको योजना अघि सारेकी छन्।

३०औँ राष्ट्रिय चिया दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले चिया क्षेत्रमा लगानी वृद्धि, उत्पादन विस्तार र निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राखिने बताइन्। उनले चिया उद्योगलाई ग्रामीण रोजगारी र अर्थतन्त्र सुदृढ गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गरिन्।

वैशाख १५ गते मनाइने राष्ट्रिय चिया दिवसका अवसरमा नेपालमा चिया उत्पादन र निर्यातको वर्तमान अवस्थाबारे पनि जानकारी दिइएको थियो। नेपालका करिब ३१ जिल्लामा चिया खेती फैलिएको छ भने करिब १५ हजारभन्दा बढी कृषक प्रत्यक्ष रूपमा यस क्षेत्रमा संलग्न छन्।

त्यस्तै, देशभर १७१ वटा चिया बगान (टि–स्टेट) र करिब १२० वटा साना तथा मझौला प्रशोधन केन्द्र सञ्चालनमा रहेका छन्। यस क्षेत्रले करिब ६० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ।

सरकारी तथ्यांक अनुसार वार्षिक करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात हुँदै आएको छ। व्यापार घाटा बढिरहेका बेला चिया उद्योगलाई निर्यातमुखी अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता मन्त्री चौधरीले औँल्याइन्।

उनका अनुसार कृषक, मजदुर, सहकारी, उद्योगी तथा व्यवसायीको प्रयासले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान मजबुत बनाउँदै गएको छ। आगामी वर्षहरूमा उत्पादन गुणस्तर सुधार र बजार विस्तारमार्फत नेपाली चियालाई अझ प्रतिस्पर्धी बनाइने सरकारको योजना रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय