spot_img

जनशक्ति अभाव र सडक विस्तारको दबाबमा नारायणी अस्पताल, आकस्मिक सेवा र आईसीयू भवनसमेत संकटमा

spot_img
spot_img

बीरगन्ज,२६ जेठ । मधेस प्रदेशको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल अहिले जनशक्ति अभाव, अपर्याप्त भौतिक पूर्वाधार र सडक विस्तार योजनाको दोहोरो दबाबमा परेको छ। चिकित्सक तथा नर्सको कमीका कारण सेवा प्रवाह प्रभावित भइरहेको अवस्थामा अस्पतालको आकस्मिक सेवा (इमर्जेन्सी) र आईसीयू सञ्चालन भइरहेको भवन नै सडक विस्तारको दायरामा परेपछि अस्पतालको भविष्यप्रति चिन्ता बढेको छ।

अस्पतालमा स्वीकृत दरबन्दीअनुसार ११औँ तहका १५ जना विशेषज्ञ चिकित्सक हुनुपर्ने भए पनि हाल ओपिडी सेवामा केवल चार जना मात्र कार्यरत छन्। बाँकी ११ पद लामो समयदेखि रिक्त छन्। यस्तै, नवौँ र दशौँ तहका २६ चिकित्सकको दरबन्दीमध्ये २१ जना मात्रै कार्यरत छन् भने ४० स्टाफ नर्सको स्वीकृत कोटामा आठ पद खाली रहेको छ।

अस्पताल प्रशासनले आवश्यक जनशक्ति उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग पटक–पटक आग्रह गरे पनि हालसम्म कुनै ठोस समाधान ननिस्किएको जनाएको छ। प्रशासनिक नेतृत्वको दृष्टिले पनि अस्पताल समस्याग्रस्त बनेको छ, किनकि तृतीय श्रेणीको प्रमुख प्रशासनिक पदसमेत रिक्त रहेको छ।

यसबीच नारायणी अस्पतालमा बिरामीको चाप भने निरन्तर बढिरहेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ लाख ७८ हजार ७ सय ६१ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् भने ५२ हजार ७ सय ७१ जना बिरामीले अन्तरङ्ग सेवा प्राप्त गरेका छन्। वैशाख महिनामा मात्र ६९९ वटा जटिल शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ।

बढ्दो बिरामी चापअनुसार भौतिक पूर्वाधार विस्तार हुन नसक्दा अस्पतालमा शय्या अभाव गम्भीर समस्या बनेको छ। अस्पतालका प्रशासन प्रमुख सुशील यादवका अनुसार बेड नपाएर धेरै बिरामी बरन्डा र भुइँमै बसेर उपचार गराउन बाध्य छन्।

मिर्गौला रोगीका लागि उपलब्ध २१ वटा डायलाइसिस मेसिनमध्ये छ वटा मेसिन भवन र आवश्यक कोठाको अभावका कारण सञ्चालनमा ल्याउन नसकिएको छ। ती मेसिन अहिले पनि स्टोरमै थन्किएको अवस्थामा छन्।

यता, वीरगञ्जको मुख्य सडक विस्तार योजनाले अस्पतालको समस्या थप जटिल बनाएको छ। सडक डिभिजन कार्यालय हेटौँडा र वीरगञ्ज महानगरपालिकाले सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र कायम गर्ने मापदण्ड लागू गर्ने क्रममा अस्पताल परिसरभित्रका केही संरचना प्रभावित हुने देखिएको छ।

अस्पतालका अनुसार यही मापदण्डभित्र आकस्मिक सेवा र सघन उपचार कक्ष (आईसीयू) सञ्चालन भइरहेको भवन परेको छ। सडक विभागले ती भवनहरूमा नापजाँच गरी रातो चिन्हसमेत लगाइसकेको छ।

अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार आकस्मिक सेवा र आईसीयू रहेको भवन हटाउनुपर्ने अवस्था आए स्वास्थ्य सेवामा गम्भीर असर पर्नेछ। “इमर्जेन्सी र आईसीयूजस्ता संवेदनशील सेवा प्रभावित भए त्यसको प्रत्यक्ष असर हजारौँ बिरामीमा पर्न सक्छ,” उनले बताए।

अस्पताल प्रशासनले दीर्घकालीन समाधानका लागि कम्तीमा २० बिघा क्षेत्रफलमा आधुनिक सुविधासम्पन्न नयाँ अस्पताल भवन निर्माण तथा शय्या क्षमता विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

हाल नारायणी अस्पतालमा पर्सा, बारा, रौतहटलगायत मधेस प्रदेशका विभिन्न जिल्लाबाट दैनिक सयौँ बिरामी उपचारका लागि आउने गरेका छन्। यस्तो अवस्थामा जनशक्ति व्यवस्थापन, पूर्वाधार विस्तार र सेवा सञ्चालनका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने माग स्थानीय सरोकारवालाहरूले गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय