काठमाडौं,०३ असार । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (IPO) बुधबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।
कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको हो। आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको भाग कटाएर बाँकी १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन असार ८ गतेसम्म दिन सकिने बिक्री प्रबन्धक NIMB Ace Capital ले जनाएको छ। आवेदन मेरोसेयर प्रणाली वा सी–आस्बा सदस्य बैंकमार्फत गर्न सकिन्छ।
कम्पनी कस्तो छ?
रेटिङ संस्था CARE Ratings Nepal ले कम्पनीलाई ‘BB+’ रेटिङ दिएको छ, जसले यसको वित्तीय दायित्व वहन क्षमता मध्यम स्तरमा रहेको संकेत गर्छ।
कम्पनीले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत करिब २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।
वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११३.९७ रुपैयाँ र प्रतिसेयर आम्दानी ५.१३ रुपैयाँ रहेको छ।
आयोजनाको विद्युत अनुमतिपत्र करिब २८ वर्ष ९ महिना बाँकी छ। लगानी फिर्ता हुने साधारण अवधि ६.४ वर्ष र डिस्काउण्टेड आधारमा करिब ८.९ वर्ष रहेको बताइएको छ।
विश्लेषकहरूका अनुसार कम्पनीको परियोजना सञ्चालनमा भए पनि रेटिङ ‘मध्यम’ स्तरको भएकाले लगानी गर्दा दीर्घकालीन जोखिम र प्रतिफल दुवै पक्षमा विचार गर्नुपर्ने देखिन्छ।




