काठमाडौं,०३ असार । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आफूहरू अनुसन्धानबाट बच्न विदेशमा नलुकेको स्पष्ट पार्दै आगामी साउन २८ गतेभित्र नेपाल फर्केर सम्बन्धित निकायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जेठ २८ गते पठाइएको इमेलमार्फत देउवा दम्पतीले हाल स्वास्थ्य उपचारका सिलसिलामा विदेशमा रहेको जानकारी गराउँदै दुई महिनाभित्र स्वदेश फर्किने बताएका हुन्। विभागका महानिर्देशकलाई सम्बोधन गरिएको चार पृष्ठ लामो पत्रमा उनीहरूले अनुसन्धान प्रक्रियामा सहयोग गर्न सदैव तयार रहेको उल्लेख गरेका छन्।
पत्रमा आफूहरू फरार रहेको वा अनुसन्धानबाट भागेको भन्ने धारणा निर्माण गरेर पक्राउ पुर्जी जारी गर्ने अथवा नेपाल फर्किने क्रममा अवरोध सिर्जना नगर्न विभागसँग आग्रह गरिएको छ। सार्वजनिक जीवनमा लामो समयदेखि सक्रिय रहँदै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीजस्ता जिम्मेवार पद सम्हालिसकेको व्यक्तिका रूपमा अनुसन्धानलाई प्रभावित पार्ने कुनै मनसाय नरहेको उनीहरूको भनाइ छ।
देउवा दम्पतीले कानुनी प्रक्रिया र प्रमाणका आधारमा हुने निष्पक्ष अनुसन्धानमार्फत आफ्नो निर्दोषिता पुष्टि गर्न तयार रहेको जनाएका छन्। हाल उनीहरू कुन देशमा बसिरहेका छन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। उनीहरू गत फागुन १३ गते नेपालबाट सिंगापुर गएका थिए र त्यसपछि हङकङमा समेत देखिएको जानकारी सार्वजनिक भएको थियो।
इमेलमा उनीहरूले गत जेठ ११ गते सर्वोच्च अदालतबाट आफूहरूविरुद्ध धरपकड नगर्न अन्तरिम आदेश जारी भइसकेको विषय पनि स्मरण गराएका छन्। कानुनी परामर्शका क्रममा आफूहरू विदेशमा रहेको आधारमा इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारीबारे जानकारी पाएपछि विभागलाई आफ्नो धारणा स्पष्ट गर्न पत्राचार गरिएको उनीहरूको दाबी छ।
देउवा दम्पतीका अनुसार गत असोजमा उजुरी दर्ता भएपछि अनुसन्धान प्रक्रिया अघि बढे पनि आफूहरू विदेश जानुअघि विभागबाट उपस्थित हुन कुनै औपचारिक पत्र प्राप्त भएको थिएन। साथै, आफ्नो निवासमा गरिएको खानतलासीका क्रममा कुनै बहुमूल्य वस्तु वा नगद बरामद नभएको मुचुल्काले देखाएको दाबी गर्दै उनीहरूले विभागको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।




