झापा,०३ असार । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मृत्यु हुनेमा साइकलयात्री गौरादह–४ का ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँ रहेका छन् ।
गौरादह नगरपालिका–१ स्थित पाडाजुङ्गी–गौरीगन्ज भित्री सडकखण्डअन्तर्गत नवदुर्गा पेट्रोलपम्प अगाडि गए राति डिपु चोकबाट पेट्रोलपम्पतर्फ गइरहेको प्रदेश१–०१–००१ क ११८८ नम्बरको टिपरले गुरागाईंलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमक अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न टिपर चालक गौरादह नगरपालिका–१ का उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




