३ असार — खाडीका ६ देशले तापक्रम ६३ डिग्रीसम्म पुगेपछि मध्याह्नको समयमा काम गराउन कम्पनीहरूलाई रोक लगाएका छन् ।
कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको समय काम गर्न रोक लगाउने निर्णय गरेका हुन् । उनीहरूले निर्णय उल्लंघन गर्ने कम्पनीलाई कारबाही गर्ने जनाएका छन् ।
बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२.३० देखि ३.३० सम्म, कतारले ११.३० देखि ३ बजेसम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२.३० देखि ३ बजेसम्म काम गराउन रोक लगाएका छन् । खाडीको तापक्रम विगतभन्दा निकै बढेको छ । कुवेतमा अहिलेसम्मकै उच्च ६३ डिग्रीसम्म तापक्रम मापन भएको छ ।
खाडीमा झन्डै १० लाख ७० हजार नेपाली कार्यरत छन् । ती मुलुकका नेपाली दूतावासका अनुसार जुनदेखि अगस्टसम्म नेपाली कामदारको बढी ज्यान जाने गरेको छ । साउदी र कतारमा हरेक दिनजसो एक नेपालीको मृत्यु हुन्छ ।
निर्णय उल्लंघन गर्नेलाई बहराइनले तीन महिना जेल र ५ सयदेखि एक हजार दिनारसम्म जरिवाना लगाउने घोषणा गरेको छ । कुवेतले प्रतिकामदारबापत एक सय केडीदेखि २ सय केडीसम्म जरिवाना लगाउने र पटक–पटक उल्लंघन गर्नेलाई तीन वर्षसम्म जेल सजाय हुने जनाएको छ । ओमनले काम रद्द गराउने दाबी गरेको छ ।
कतारले एक महिनासम्म कार्यक्षेत्र बन्द गराउने निर्णय गरेको छ । साउदीले ३ हजार रियाल र यूएईले पहिलो पटक उल्लंघन गर्नेलाई १० हजार दिराम र न्यूनतम ३ महिनाका लागि कम्पनीलाई तेस्रो वर्गमा घटुवा गर्ने कानुन बनाएको छ । दोस्रो पटक पनि उल्लंघन गरेमा १५ हजार दिराम जरिवाना र ६ महिनासम्म काम गर्न अनुमति नदिइने र तेस्रो पटक गरेमा २० हजार दिराम जरिवाना र ९ महिनासम्म काम गर्न अनुमति नदिइने कानुन बनाएको जनाएको छ ।