spot_img

सडक विस्तारमा ढिलाइ भएको भन्दै १ घण्टा चक्काजाम

spot_img
spot_img

चितवन,१२ पुष । भरतपुर बाइपास रोडको चार किलोमिटर विस्तारको काम चार वर्षसम्म पनि नसकेपछि भरतपुर महानगरपालिका–१२ का स्थानीयबासिन्दा आन्दोलित बनेका छन् । उनीहरुले आइतबार बिहान एक घण्टा बाइपास सडकखण्ड बन्द गराए । जिल्ला प्रशासन कार्यालय चितवन अगाडि भेला भएका सर्वसाधारण नागरिकहरुले ‘हामी धुलोमा छौं’ भन्ने प्लेकार्ड बोकेर विरोधमा उत्रिएका थिए ।

सडक विस्तारको काम थालेको चार वर्ष हुँदा अझै आधा काम पनि सकिएको छैन । यहाँका जनताले धुलो खान थालेको वर्षौं बितेको छ । स्थानीय रवीन खतिवडाले सडक डिभिजन कार्यालय र ठेकदारले अत्याचार गरेकोले बाध्य भएर सडकमा उत्रिनु परेको बताए । उनले सडक विस्तारको काम छिटो नसके, आन्दोलनलाई थप अगाडि बढाउँदै लैजाने चेतावनी दिए । ‘एक टिपर बालुवा र ग्राभेल झार्छ महिना दिन हराउँछ, काम गर्ने कामदार कोही छैन’ खतिवडाले भने, ‘ठेकदार कता भाग्यो, सडक डिभिजनलाई वास्ता छैन ।’ प्रदेश सभाका सांसद विजय सुवेदी पनि स्थानीयको आन्दोलनमा पुगेका थिए ।

चितवनको जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय अगाडि रहेको आँपटारीदेखी केन्द्रीय बसपार्क जोड्ने बाइपास सडक विस्तारमा ठेकदारले चरम लापरबाही गर्दै आएको उनीहरुको आरोप छ । ठेकदारले मनपरी गर्दा सम्बन्धित निकाय मुकदर्शक बन्दै आएको उनीहरुको भनाइ छ ।

२०७३ पुषमा सडक विस्तारको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवासँग १५ महिनाभित्र सक्ने गरी सम्झौता भएको थियो । १२ करोड ८१ लाख ८२ हजार रुपैयाँमा ठेक्का पाएको सो ठेकेदार कम्पनीले सडकमा झारा टार्ने र देखावटी मात्रै काम गरेको उनीहरुको भनाइ छ ।

‘ठेकेदारले पुस महिना भित्र काम सक्छु भनेर कमिटमेन्ट गरेको छ,’ डिभिजन कार्यालय भरतपुरमा प्रमुख कृष्ण अधिकारी भने, ‘पुस मसान्तमा काम नसके पेनाल्टीमा जान्छ ।’

विशालचोकदेखि आँपटारीसम्म भागलाई दोस्रो प्याकेज बनाएर रायमाझी पशुपति जेभी कम्पनीले ठेक्का पाएको छ । दोस्रो प्याकेजको काम अघि बढेको कार्यालयका प्रमुख कृष्ण अधिकारीले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय