सहारा सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ताको तयारी

spot_img

काठमाडौं,१४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा सहकारी ठगीका आरोपमा मुद्दा दर्ताको तयारी भएको छ। सहारा चितवन सहकारी ठगी प्रकरणमा अनुसन्धान पुरा गरी प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्ने तयारी गरेको हो।

प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीका पूर्व असई रामबहादुर खनाल र कुमार रम्तेलसहित अन्य १४ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलका अनुसार प्रहरी प्रतिवेदनको आधारमा लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ताका लागि फाइल तयार गरिएको छ। उनले भने, “यहि माघ २२ गतेसम्म अदालतमा अभियोजन दर्ता गरिसक्ने तयारी छ।”

प्रहरीको राय अनुसार, लामिछाने र अन्य १३ प्रतिवादीबाट ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो भराउनुपर्नेछ। उनीहरूलाई सहकारी ठगी र संगठित अपराधको अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ।

लामिछाने आइतबार मात्र बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय