नेपाल पत्रकार महासंघले सुरेश रजकको हत्यामा आन्दोलनको घोषणा

spot_img

काठमाडाैं,१६ चैत । पत्रकार सुरेश रजकको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ।

महासंघको चैत १६ गते बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनाबद्ध हत्या र सञ्चार गृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए।

उनका अनुसार, क्षति पुर्‍याइएका सञ्चार गृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय भएको छ। “आन्दोलनका थप कार्यक्रम अवस्थाको विश्लेषणपछि तय गरिनेछ,” महासचिव दाहालद्वारा जारी विज्ञप्ति भनिएको छ।

महासंघले हत्या गरिएका पत्रकार रजक सम्बद्ध सञ्चार गृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति गठन गरिएको छ।

पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले गरेको आगलागीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार रजकको चैत १५ मा ज्यान गएको थियो। तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याइएको र कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुंगामुढा गरी समाचार कक्षसम्म आतंक सिर्जना गरिएको महासंघले जनाएको छ।

त्यस्तै, प्रदर्शनकारीको आक्रमणबाट पत्रकार दिनेश गौतम घाइते भएका छन्। उनीहरूले हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय