बीरगन्ज,१५ वैशाख । हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा ट्रक सफा गर्ने क्रममा भएको दुर्घटनामा सहचालकको ज्यान गएको छ।
रोकिराखिएको ना.७ ख.७०१८ नम्बरको लहरी ट्रकको अगाडिको सिसा पुछ्ने क्रममा चालकले अचानक गाडी चलाउँदा यो दुर्घटना भएको हो। सोही क्रममा ट्रक अगाडि रोकिराखेको ना.६ ख.४२८९ नम्बरको ट्रकसँग ठोक्किँदा सहचालक च्यापिएर गम्भीर घाइते भएका थिए।
दुर्घटनामा पर्साकाे पर्सागढी गाउँपालिका–३ का २३ वर्षीय फुलकान्त थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटी ले जानकारी दिएका छन्। प्रहरीका अनुसार ट्रक चालक पर्साकाे ठोरी गाउँपालिका–१ का ३२ वर्षीय एकराज तिमिल्सेना र उदयपुरका २९ वर्षीय भविस तामाङलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

