बुटवल, २२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार राति काठमाडौंस्थित निवासबाट पक्राउ गरी शनिबार बिहान भैरहवा ल्याइएको छ। उनलाई यती एयरलाइन्सको उडानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।


लामिछानेलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा लगिएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्रै रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।
सुप्रिम सहकारी प्रकरणमा लामिछानेमाथि ठगीको आरोप लागेपछि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सुनाएको आदेशमा जिल्ला अदालतले पूर्वमा दिएको एक करोड धरौटीमा रिहा गर्ने निर्णय बदर गरिएको छ।

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतले ठगीको प्रकृति, पीडितको अवस्था, र घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै धरौटी निर्णय पर्याप्त नहुने ठहर गरेको छ।
शुक्रबार राति पक्राउ परेपछि लामिछानेलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको थियो।