काठमाडाैं,१८ जेठ । इजरायली नियन्त्रणमा रहेको गाजाको राफाह क्षेत्रमा राहत सामग्री लिन लाइनमा बसेका सर्वसाधारणमाथि गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्।
घटनाबारे एपी समाचार संस्थाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इजरायली सेनाले नै गोली चलाएको जनाएको छ। तर इजरायली सेनाले घटनामा संलग्नता अस्वीकार गर्दै संक्षिप्त विज्ञप्तिमा भनेको छ, “हामीलाई राहत वितरणस्थलमा इजरायली सेनाको गोलीबारीबाट मानवीय क्षति भएको पुष्टि छैन। घटनाबारे अनुसन्धान भइरहेको छ।”
यसैबीच अलजजिराले भने मृतक संख्या ३९ रहेको दाबी गरेको छ। राहत वितरणस्थल इजरायली सैन्य नियन्त्रणमा रहेको क्षेत्रमा पर्ने र सर्वसाधारणको पहुँच अत्यन्तै कठिन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
राफाहमा भएको यस घटनाले गाजामा झनै गहिरिँदो मानवीय संकटको संकेत दिएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालय (OCHA) ले केही दिनअघि गाजामा हालसम्मकै गम्भीर संकट उत्पन्न भएको चेतावनी दिएको थियो।
गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध २० महिनासम्म लम्बिएको छ। निरन्तरको आक्रमण, विस्थापन र खाद्य अभावले गाजामा बालबालिकादेखि वृद्धवृद्धासम्म सबै तहका नागरिक कुपोषणको चपेटामा परेका छन्।
यता, हमासले अमेरिकाद्वारा प्रस्तावित युद्धविराम योजनामा केही संशोधनको माग गर्दै वार्ताको ढोका खुला राखे पनि अमेरिकी दूत स्टिभ विटकफले हमासको प्रस्ताव स्वीकार्य नहुने बताएका छन्। यस्तो अवस्थामा गाजाको भविष्य अझै अन्योलमा परेको देखिन्छ।

