युक्रेनद्वारा रुसमा हालसम्मकै सबैभन्दा ठुलो ड्रोन हमला

spot_img

काठमाडौं,१९ जेठ । युक्रेनले आइतबार रुसमाथि हालसम्मकै सबैभन्दा ठुलो ड्रोन आक्रमण गरेको दाबी गरेको छ। एसबीयू (युक्रेनी सुरक्षा निकाय) द्वारा सञ्चालन गरिएको ‘स्पाइडर्स वेब’ नामक गोप्य सैन्य अभियान अन्तर्गत गरिएको उक्त कारबाहीमा ११७ ड्रोन प्रयोग गरिएको थियो।

यस आक्रमणमा रुसका चारवटा प्रमुख सैन्य हवाई अड्डाहरूलाई निशाना बनाइएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। आक्रमणमा करिब ४० वटा युद्धविमानलाई क्षति पुगेको र रुसका ३४ प्रतिशत क्रूज मिसाइल क्यारियरहरू प्रभावित भएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जानकारी दिएका छन्।

एसबीयू स्रोतअनुसार, यो कारबाहीको तयारीमा डेढ वर्ष लागेको थियो। ड्रोनहरूलाई विशेष रूपमा तयार पारिएको ट्रकमा लुकाएर रिमोट-नियन्त्रित प्रणालीमार्फत लक्षित स्थानमा पुर्‍याइएको र ‘सही समयमा’ प्रक्षेपण गरिएको थियो।

रुसले युक्रेनी ड्रोन आक्रमणको पुष्टि गर्दै यसलाई ‘आतङ्कवादी कार्य’ भनेर टिप्पणी गरेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार कम्तीमा पाँच क्षेत्रहरूमा युक्रेनी ड्रोनले हमला गरेका थिए।

त्यसैगरी, युक्रेनी अधिकारीहरूले पनि रुसी मिसाइल र ड्रोन आक्रमणले आफ्नो भूभागमा उल्लेखनीय क्षति पुर्‍याएको बताएका छन्।

युद्धको तीव्रताबीच, युक्रेन र रुसका वार्ताकारहरू टर्कीको इस्तानबुलमा दोस्रो चरणको शान्ति वार्ताका लागि जाने तयारीमा छन्। यद्यपि, दुबै पक्षबीच गहिरो मतभेद कायम रहेकाले वार्ताबाट तत्काल शान्तिको अपेक्षा गरिनसक्ने विश्लेषकहरूले बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण हमला सुरु गरेका थिए। हाल रुसले युक्रेनको करिब २०% भूभाग, जसमा २०१४ मा कब्जा गरिएको क्राइमिया प्रायद्वीप पनि पर्छ, नियन्त्रणमा राखिरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय