काठमाडौं,१९ जेठ । भारतका विभिन्न राज्यहरूमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो जनधनको क्षति पु¥याएको छ। पछिल्ला दुई दिनको अविरल वर्षासँगै कम्तीमा ३० जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
विशेषगरी असम राज्य सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँका १५ जिल्लामा करिब एक लाख नागरिक प्रभावित भएका छन्। बाढीले १७५ गाउँ जलमग्न बनाएका छन् भने सडक तथा रेल सेवा पूर्णरूपमा अवरुद्ध भएका छन्।
ब्रम्हपुत्र नदी सहित १० वटा मुख्य नदीमा जलस्तर उच्च भएको असमको केन्द्रीय जल आयोगले जनाएको छ। मुख्यमन्त्री हिमन्त विश्व शर्माले तटीय र डुबान सम्भावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।
सिक्किम राज्य पनि बाढीको चपेटामा परेको छ। गएको शुक्रवारदेखि परेको लगातार वर्षाले उत्तर सिक्किमका लाचेन र लाचुङ क्षेत्रमा सडक नेटवर्क भत्किएको छ। जसका कारण १५ सयभन्दा बढी पर्यटकहरू बाटोमै अलपत्र परेका छन्।
प्रहरीका अनुसार बाढीले राजमार्गहरू क्षतिग्रस्त बनाएकाले उद्धारमा कठिनाइ भएको छ। टिस्टा नदीको जलस्तर पनि खतराको सीमाभन्दा माथि पुगेको बताइएको छ।
भारत सरकार र स्थानीय प्रशासनले बचाउ तथा उद्धार कार्य तिब्र पार्ने प्रयासमा जुटेको जनाइएको छ। यद्यपि लगातारको वर्षा र बिग्रिएको पूर्वाधारले चुनौती थपिएको छ।

