काठमाडौँ,२० जेठ । भारतका पूर्वोत्तर राज्यहरूमा बाढीको प्रकोप तीव्र बन्दै गइरहेको छ। अहिलेसम्म बाढीका कारण ३४ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
सिक्किममा हजारौं पर्यटक बाढीमा अलपत्र परेका छन् भने मेघालयमा उद्धार कार्यका लागि सेना परिचालित गरिएको छ। त्यहाँ पाँच सयभन्दा बढी मानिस बाढीको जोखिममा फसेका छन्। मणिपुरमा मात्र ५६ हजारभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्।
भारतीय समाचार संस्था पीटीआईका अनुसार यहाँ १० हजारभन्दा बढी संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाढी र पहिरोको चपेटामा परेका नागरिकको उद्धारमा मणिपुर फायर सर्भिस, असम राइफल्स, एसडीआरएफ र एनडीआरएफका टोली खटिएका छन्। यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित राज्यका नेताहरूसँग टेलिफोन संवाद गर्दै राहत तथा उद्धार कार्यमा आवश्यक सबै सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
मोदीले आसामका मुख्यमन्त्री हिमन्त विश्वशर्मा, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र मणिपुरका राज्यपाल अजय भल्लासँग बाढीको अवस्थाबारे जानकारी लिँदै केन्द्र सरकारको सहयोग उपलब्ध हुने आश्वासन दिएका हुन्।

