अमेरिकाको भर्जिनियामा चार जना नेपालीको दुखद मृत्यु

spot_img

काठमाडौं,२४ जेठ । अमेरिकाको भर्जिनिया राज्यस्थित मानेसास पार्कमा नेपाली मूलका चार जना व्यक्ति मृत फेला परेका छन्। मानेसासस्थित लाने लेनको ९४०० ब्लकमा रहेको अपार्टमेन्टभित्र एकै परिवारका दुई बालबालिका, एक महिला र एक पुरुषको शव भेटिएपछि स्थानिय समुदायमा शोकको छायाँ छाएको छ।

प्रहरीका अनुसार, मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षका बालक र आठ वर्षीया बालिका छन्। प्रारम्भिक अनुसन्धानमा सबैको गोली लागेर मृत्यु भएको पाइएको छ। घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको छ।

मानेसास पार्क प्रहरीले दिएको जानकारी अनुसार, जुन ५ तारिख राति १०:४० बजे अपार्टमेन्ट मालिकले भाडामा बसेका परिवारसँग सम्पर्क हुन नसकेको भन्दै प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले अपार्टमेन्टभित्र प्रवेश गर्दा चार जनाको शव फेला परेको हो।

घटना बाहिरी व्यक्तिको संलग्नता बिना, घरभित्रै सीमित पारिवारिक त्रासदी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि गोली चलाउने व्यक्ति को हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

सबै शवहरूलाई पोस्टमार्टमका लागि मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ। घटनाको यथार्थ पत्ता लगाउन अनुसन्धान जारी रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय