काठमाडौं,२५ जेठ । साउदी अरबमा हज यात्राका क्रममा तीव्र गर्मीका कारण कम्तीमा १३ जना इरानी तीर्थयात्रीले ज्यान गुमाएका छन्। इरानी सरकारी सञ्चार माध्यम र इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार शुक्रबारसम्मको तथ्याङ्कअनुसार तीर्थयात्राका क्रममा मृतकको संख्या १३ पुगेको हो।
हाल साउदी अरबका मक्का र मदीना जस्ता पवित्र सहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले हज यात्रामा रहेका लाखौं मुस्लिम तीर्थयात्रीलाई अत्यधिक गर्मीको चुनौती सिर्जना गरिरहेको छ।
यस वर्ष इरानबाट करिब ८६ हजार ७ सय जना तीर्थयात्री हजका लागि साउदी अरब गएका छन्। गत वर्ष पनि उस्तै परिस्थिति देखिएको थियो, जहाँ साउदी अरबमा ५१.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो र कम्तीमा १,२०० जना हज यात्रु (जसमध्ये २२ जना इरानी) को मृत्यु भएको थियो।
स्वास्थ्य विज्ञहरूले अत्यधिक गर्मीले मानव शरीरको चिसोपना प्रणाली प्रभावित पार्ने बताउँदै आउनु भएको छ। गर्मीको मारमा परेपछि शुरुमा टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता लक्षण देखिने र समयमै उपचार नपाए शरीरका अंगहरू बन्द हुँदै मृत्युसम्म पुग्न सक्ने चेतावनी दिइएको छ।
शनिबार जारी विज्ञप्तिमा इरानी अधिकारीहरूले तीर्थयात्रीहरूलाई प्रत्यक्ष घामबाट जोगिन, प्रशस्त पानी पिउन, शरीरलाई चिसो राख्न र आवश्यक सावधानीहरू अपनाउन आग्रह गरेका छन्।
विश्व स्वास्थ्य संगठन (WHO) ले पनि जलवायु परिवर्तनका कारण वर्षेनी झन्डै पाँच लाख मानिसको मृत्यु हुने गरेको अनुमान गर्दै, वास्तविक संख्या अझ धेरै हुन सक्ने चेतावनी दिएको छ।

