काठमाडाैं,२५ जेठ । भारतको हैदराबादमा एक नेपाली युवतीको हत्या भएको छ। गर्भवती भएपछि आफ्नै प्रेमीबाट हत्या गरिएकी ३३ वर्षीया तारा बोहराको शव जुन ४ मा बाचुपल्लीस्थित आवासीय क्षेत्रमा फालिएको अवस्थामा फेला परेको हो।


घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा उर्फ विल्सनलाई प्रहरीले पक्राउ गरेको छ। विजय एक स्थानीय रेस्टुरेन्टमा सेफको रूपमा काम गर्दै आएका थिए र तारा बोहरासँग लिभ-इन सम्बन्धमा थिए। उनीहरूबीचको चिनजान फेसबुकमार्फत सुरु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
ताराको विगतमा विवाह भइसकेको थियो र उनका दुई सन्तान थिए। तर गत अप्रिल १५ मा उनी हैदराबाद पुगेर विजयसँगै भाडाको घरमा बस्न थालेकी थिइन्। मे २३ मा गर्भवती भएको कुरा बाहिरिएपछि उनीहरूबीच झगडा भएको र त्यसक्रममा विजयले नाइलनको डोरीले घाँटी थिचेर ताराको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यापछि विजयले ताराको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेका थिए। स्थानीय चौकीदारले शंकास्पद ब्याग देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पाँच विशेष टोली बनाएर आरोपीको खोजी सुरु गरिएको थियो।
सीसीटीभी फुटेज र अन्य प्राविधिक प्रमाणको आधारमा प्रहरीले विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरेको हो। प्रारम्भिक बयानमा विजयले हत्या गरेको स्वीकार गरेको छ। तर मृतक र आरोपी दुवैको नेपालस्थित स्थायी ठेगाना खुल्न सकेको छैन।