spot_img

पर्साको ठोरी गाउँपालिका जिल्लाको पहिलो साक्षर पालिका घोषणा

spot_img
spot_img

बीरगन्ज,२१ असार । पर्साको ठोरी गाउँपालिका जिल्लाकै पहिलो साक्षर पालिका घोषणा भएको छ।

शनिबार ठोरी गाउँपालिका–३ शिकारीवासमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले पालिकालाई साक्षर पालिका घोषणा गरेका हुन्। कार्यक्रम जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनारको प्रमुख आतिथ्य र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपाल जोशीका अनुसार, नेपाल सरकारले तोकेको साक्षर पालिका घोषणाका १२ सूचकहरूमध्ये ८ वटा पूरा गरेको आधारमा ठोरीलाई साक्षर पालिका घोषणा गरिएको हो। आसमान नेपालको सहकार्यमा पाँच वटै वडामा गरिएको सर्वेक्षणमा १५ देखि ६० वर्ष उमेर समूहका १५,६७८ जनामध्ये ९८.८६ प्रतिशत अर्थात १५,३२१ जना साक्षर रहेको पाइएको उनले जानकारी दिए। सरकारले ९५ प्रतिशतभन्दा बढी साक्षरता दर पुगेका पालिकालाई साक्षर घोषणा गर्न सकिने व्यवस्था गरेको छ।

अध्यक्ष श्रेष्ठका अनुसार, पर्साका १४ वटै पालिकामध्ये ठोरी पहिलो साक्षर पालिका बन्न सफल भएको छ। साथै, मधेस प्रदेशका १३६ पालिकामध्ये यो सातौं साक्षर पालिका बनेको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, उद्योग विभागका महानिर्देशक सुशील साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास, आसमान नेपालका धर्मेन्द्र चौरसिया लगायतको उपस्थिति थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय